राजनीति

संसद् सेवा दिवस मनाइँदै



काठमाडौँ, २८ मंसिर । संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मंसिर २८ गते मनाइने संघीय संसद सेवा दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

वि.सं. २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । संघीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधानको धारा २०७ मा संघीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने व्यवस्था छ ।

संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ ।