राजनीति

मन्त्री घिसिङद्वारा मुग्लिन-पोखरा सडक तोकिएकै समयमा सक्न निर्देशन   



काठमाडौँ, २८ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

आज जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

मन्त्री घिसिङले पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको हालसम्म भएको प्रगति विवरणबारे जानकारी लिँदै समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । पश्चिम खण्डमा भौतिक प्रगति ५९ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ८० प्रतिशत भएको छ ।

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार ४८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमीमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको उनले जानकारी दिए ।