Banner News

प्रभावकारी र परिणाममुखी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन



काठमाडौँ, १ पुस । प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुने गरी प्रभावकारी र परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् ।

सोमबार साँझ प्रतिष्ठानको २६औँ सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले जातीय संस्थाको प्रतिनिधित्व गर्दै आएका पदाधिकारीबाट सकारात्मक प्रतिवेदन आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यसम्पादन गर्न आग्रह गरिन् ।

प्रधानमन्त्रीले लोपोन्मुख, सीमान्तकृत, पिछडिएका तथा पिछडिएका अवस्थामा रहेका सबै आदिवासी जनजातिको उत्थान, संस्कृति संरक्षण तथा प्रवर्द्धनमार्फत देशको विविधता उजागर गर्दै पर्यटन प्रवर्द्धनमा योगदान दिनुपर्नेमा जोड दिइन् । उक्त बैठकले प्रतिष्ठानको आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का संस्थागत प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि उद्देश्य पूरा हुने कार्यक्रम, योजना तथा नीति तय गर्ने निर्णय गरेको छ ।

बैठकले प्रतिष्ठानमा रहेका कर्मचारी दरबन्दीमा संशोधन गर्ने निर्णय पनि गरेको छ । हाल चार सहसचिव, पाँच उपसचिव र १० अधिकृतसहित ५२ जनाको दरबन्दी रहेकामा अब दुई सहसचिव, चार उपसचिवसहित ४२ जनाको दरबन्दी कायम गर्ने गरी कर्मचारी विनियमावली संशोधन गर्ने निर्णय भएको छ ।