राजनीति

एमाले महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै



काठमाडौँ, १ पौष । नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान  बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने छ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगले सोमबार अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् । महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् । विद्युतीय प्रणाली रामलक्ष्मण इनोभेसन प्रालिले व्यवस्थापन गरेको हो ।