समाचार

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु



काठमाडौँ, ३ पौष । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ ।

बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरणडाभार क्षेत्रमा गणकहरू खटिएका छन् । उनले पहिलो भागअन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए । उनले भने, ‘एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखिने छ ।’

चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर बाघ गणना गर्न लागिएको जनाउँदै मगरले उक्त ब्लकलाई तीन भागमा विभाजन गरिएको बताए ।

उनका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखी बाघ गणना गरिने छ । चितवन–पर्सा ब्लकमा नौ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गर्न लागिएको उल्लेख गर्दै सूचना अधिकारी मगरले यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिने जानकारी दिए ।