राजनीति

एमाले नेता काशीनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट बिदा



काठमाडौँ, ४ पौष । नेकपा (एमाले)का प्रभावशाली नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।

६६ वर्षको उमेरमा उनले पार्टीका कुनै पनि कमिटी तथा निकायमा नरहने घोषणा गर्दै साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा काम गरिरहने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अधिकारीले करिब ५० वर्ष लामो राजनीतिक जीवनमध्ये ४४ वर्ष पूर्णकालीन रूपमा राजनीतिमा सक्रिय रहेको उल्लेख गरेका छन् । उनले इमान, निष्ठा र समर्पणका साथ तन, मन र धन दिएर निस्वार्थ रूपमा काम गरेको दाबी गरेका छन् । उनी अघिल्लो कमिटीमा उनी सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

‘पद र अवसरका लागि कहिल्यै मरिहत्ते गरिनँ,’ अधिकारीले भनेका छन्, ‘सपना असल कम्युनिस्ट बन्ने थियो, तर सबै मानक पूरा गर्न सकिनँ।’