राजनीति

कांग्रेस निर्वाचनमा जान आतुर छ : शेखर कोइराला



काठमाडौँ, ४ पौष । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।

मोरङ ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा डा कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।

उनले भने,  ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो,’ ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्का समेत जन्मिएको छ ।’

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । ‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ?,’ कोइरालाले प्रश्न गरे ।