काठमाडौँ, ५ पौष । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावना अनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छिन् ।
सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले चुनावमा कसले जित्छ वा कसले हार्छ त्यो गौण कुरा रहेको दाबी गरेकी छिन् । लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठुलो कुरा रहेको उल्लेख गर्दै उनले अराजकताले कसैलाई खुसी दिँदैन केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्ने दाबी गरिन् ।
उनको सन्देशमा भनिएको छ, ‘चुनावमा कसले जित्छ वा कसले हार्छ त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठुलो कुरा हो । अराजकताले कसैलाई खुसी दिँदैन केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्छ । हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने उपलब्धि होइन । यो त एउटा लामो र अभिराम यात्रा हो । यस ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न हामी सबैबाट अथक पसिना र समयको माग गर्ने धैर्यको आँचो छ । सुरक्षाको सवालमा हामीले कुनै कसर बाँकी राखेका छैनौ । एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ । आन्दोलनका क्रममा लुटिएका १३४२ थान मध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ । यस अतिरिक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। क्षति ग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको छ । निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।’










प्रतिक्रिया दिनुहोस्