राजनीति

योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्न सक्छ : मन्त्री पुन



काठमाडौँ, ६ पौष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्नसक्ने बताएका छन् ।

आज विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुहुँदै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताए ।

मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने बताए । भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्नसक्ने बताए । योग ध्यानलाई गाउँगाउँमा पुर्याउनको लागि सबैले प्रयास पनि आग्रह गरे ।

उनले भने, ‘मनलाई शुद्ध गर्नुपर्ने ठूलो आवश्यकता छ । मन शुद्ध भएन भने मनमा अनेकौँ किसिमका लोभ, लालसा, घमण्ड धेरै चिजहरु बढ्छन् । त्यो बढ्यो भने भ्रष्टाचार मौलाउने एउटा राम्रो माध्यम बन्छ । जति पनि भ्रष्टचारीहरु छन्, उनीहरुको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरुमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरु जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो । त्यसको औषधि बनेको पनि छैन । बन्दा पनि बन्ने छैन । तर त्यसको औषधिको रुपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैल्याउन सक्नुपर्छ ।’