Banner News

विद्या भण्डारीको अभिव्यक्तिप्रति प्रदिप ज्ञवालीको आपत्ती



काठमाडौँ, ७ पौष । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्तिप्रति आपत्ती जनाउनुभएको छ ।

एक टेलिभिजन कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले राजसंस्था फर्कन सक्ने अभिव्यक्ति दिनुभएको थियो । सोही प्रसंगलाइ लिएर नेता ज्ञवालीले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘पूर्वराष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’

त्यस्तै महाधिवेशनमा पराजित इश्वर पोखरेलको समुहले गरेको छुट्टै भेलाका सन्दर्भमा समेत नेता ज्ञवालीले आँखा विझाएको अभिव्यक्ति दिनुभयो । छुट्टै गुट भेला आवश्यक नरहेको उल्लेख गर्दै नेता ज्ञवालीले महाधिवेशन अघिकै मुद्धालाई कारम राख्ने हो भने पार्टी अन्त्यहिन क्लवको रुपमा रुपान्तरित हुने भएकाले त्यसो नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन । महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो । त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ । यसो हुनुहुँदैन । एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो- केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न । महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनस् अनुमोदित गरेको छ । अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैन । तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपुर् याएका छौं । तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ । अब हाम्रो समग्र उर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र ?’