Banner News

विपद् पूर्व तयारीलाई अझ मजबुत बनाउन सरकार प्रतिवद्ध छ : गृहमन्त्री अर्याल



काठमाडौँ, ७ पौष । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

आज पूर्वानुमानमा आधारित पूर्वकार्य सम्बन्धी चौथो राष्ट्रिय संवाद उद्घाटन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको बताए ।

उनले भने, ‘नेपालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी मुलुकको जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रुपान्तरणको यात्रा शुरु गरिसकेको छ । पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुन तीन कुराहरु महत्वपूर्ण छन् । जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणाली हो।’ ‘पूर्वसूचना जारी भएपछि तत्काल सक्रिय हुने स्पष्ट कार्ययोजना हो भने तेस्रो पहिला नै व्यवस्थित गरिएको श्रोत साधन हो । जसले संकटको बेला ढिलाइ नगरी काम गर्न मद्दत गर्दछ । विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध छ ।’