भक्तपुर, १० पौष । रमेश गिरी । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित एक इँटा भट्टामा दाङ घोराहीबाट आएका १४ वर्षका सागर घर्तीको रहर त कहाँ हो र पुस महिना बिहानको ५ बजे चिसो माटोलाई साँचोमा बजारेर भुईमा पर्रक्क इँटा पल्टाउन ।
सपना त उनको पुलिस बन्ने थियो नी । सागर भन्छन्, ‘सपना पुलिस बनेर हातमा लठ्ठी समाउने थियो नी सर, तर के गर्नु भाग्यले यस्तो तुषारोमा हातमा इँटा पार्ने साँचो थमाईदियो ।’ मन चसक्क पार्ने कुरा गर्दै सागरले फेरी थपे, ‘के गर्नु सर घरमा विरामी आमा छिन्, बाउँ र म यहाँ काम गर्न आएका छौँ, आमा र बहिनी घरमै छन्, पढ्नु त यस्तै हो । आमाको उपचार गर्न पाए हुन्थ्यो ।’
कक्षा ५ सम्म पढेका सागरलाई पढ्ने इच्छा उत्तिकै छ । गाउँमै पढाई गरेका उनी गतवर्ष पनि यसैगरि बुबा, आमा, बहिनीसंगै यहीँ इँटा भट्टामा काम गरेर फर्किएका थिए । यसवर्ष भने फर्कने मुडमा छैनन् उनी । भन्छन्, ‘यसवर्ष म घर फर्कन्न, पढाई त यस्तै हो, इँटा भट्टामा काम सकिएपछि खलासी गरेरै भएपनि बस्छु तर पैसा कमाउँछु, आमालाई क्यान्सर भएको छ, उपचार पनि त गर्नुछ ।’
आमाको रोगको उपचार गर्ने जिम्मेवारी पनि त्यही बालापनको काँधमा थपिएको छ । ‘गरिबको कोखमा जन्मनेले भाग्य पनि हारेरै ल्याउँदो रैछ नी सर ।’ सागरको कलिलो मनले ओकलेका गहुंगो शब्दले मन कटक्क खान्छ । सर्लाही रानीघाँटबाट आमाबाबुसंगै भक्तपुरको इँटा भट्टामा आइपुगेकी ११ वर्षीया रामप्यारी विकको भविश्य एउटा साँघुरो झ्याउलीको कुनामा कोचिएको छ ।
भm्याउलीको बसाई, गरिबीको पीडा र तीन जना सन्तान मध्येकी जेठी उनी १० वर्ष हुँदा गतवर्ष पनि इत्ही इँटा भट्टाको झ्यालीमा ६ महिना आमाबाबुसंगै बसेर फर्किए पनि यसवर्ष फेरी त्यही फर्किएकी छिन् । साना भाईबहिनीको रेखदेख गर्ने र अपरान्ह पछि बिहान बनाएको इँटा पल्टाउने र सुकाउने काम गर्दै आएकी छिन् ।
त्यस काम गरेवापत उनले छुट्टै पारिश्रमिक भने पाउँदिनन् । उनले गरेको कामको पारिश्रमिक पनि बाबुले लिएको ठेक्कामै परेको छ । रामप्यारीको बुबा कान्छा बिक छोरीलाई बालश्रममा लगाएको स्वीकार्नु हुन्न । उहाँले छोरीले भाईबहिनी हेर्ने र केहिले काँही नभ्याउँदा सक्ने काम सघाउने गरेको दाबी गर्नुहुन्छ ।
आमाबुबासँगै रोल्पादेखि आएकी १५ वर्षीया जुनकिरी सार्कीको पढ्ने इच्छा पनि इँटाभट्टाको धूलोसंगैै उडेको छ । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टामा काम गर्न थालेको पाँच वर्ष बितिसक्दा पनि उनको पढ्ने चाहनाले पूर्णता पाएन ।
गाउँमा भीर बारीमा उब्जने कृषिबाट परिवार पाल्न नसक्ने भएपछि बुबाआमासंगै इँटाभट्टामा आइपुगेकी उनले मंसिरदेखि बैशाखसम्म इँटाभट्टाकै झ्याउलीमा बस्ने, इँटा पार्ने, बोक्ने काम गर्दै आएकी छिन् ।
सुनकिरी भन्छिन्, “पढ्ने चाहना त कति छ कति, तर हामी गरिबले कहाँ पढ्न पाउँछौ र ? आमाबाबुको कमाईले ऋण तिर्नै पुग्दैन, पाँच जनालाई कसरी पेट भर्नु काम त गर्ने पर्यो, कहिले इँटाभट्टाको माटोसंग सपनाहरु पल्टाईरहेकी छु ।”
अरुले किताब बोकेर बसको गाडी चढेको देख्दा रहर लाग्ने गरेको बताउदै उहाँले सरकारले गाउँ गाउँमा अभिभावकलाई स्वरोजगार बनाउन सके गाउँनै छाडेर बाँच्नका लागि यहाँ आएर चिसो माटोमा जीवन सिउँनै पर्दैनथ्यो ।
मन चसक्क हुने गरि जुनकिरी भन्नुहुन्छ, “सरकार गाउँमा कहिले पुग्दा है ? गाउँमा रोजगारी, मनलागे जति निःशुल्क पढ्न व्यबस्था, उपचार गर्न गाउँमै अस्पताल कहिले पुग्लान् है ? त्यति भए त यहाँको इँटाभट्टाको धूलो र हिलो माड्न किन आउँनु पर्ला ।”
नाइकेको लहलहैमा तीनवर्ष अगाडि इँटा भट्टा प्रवेश गरेका १४ वर्षीय मने अर्थात मनबहादुर खड्का अब पढेर के हुन्छ र भन्छन् । भकुण्डेबेसीमा गरिबीले थिलथिलो बनेको परिवारलाई छाडेर पैसा कमाउने रहरमा इँटा भट्टामा छिरेका उनले ६ महिना इँटा भट्टामा र ६ महिना बसका खलासीका काम गर्दै आएको बताउँछन् ।
चुरोटको लामो सर्को तानेर धुवाँ फाल्दै मने भन्नुहुन्छ, “के छ र गाउँमा ढिरोँ पनि पेटभरि खान पाइदैन, यहाँका रहर लागेको चिज खान पाएको छु । दुईचार सय भएपनि पैसा खेलाउन पाएको छु, तीनवर्ष ६ महिना इँटा भट्टा त ६ महिना खलासी गरेको । मेरो पढ्ने चाहनालाई गाउँमै बिसाएर आएको छु, अब त ड्राइभर बन्ने सपना छ ।”
ईट्टा बोक्दै गरेकी १७ वर्षीया टुल्की बिकलाई पनि एक वर्षकी एउटा छोरीको चिन्ता छ । श्रीमान्संगै ईट्टाभट्टामा काम गर्दै आएकी बिकलाई ठेक्का लिएको ईट्टा सबै सिध्याउदा पाए हातमा रकम लिएर गाउँ फर्कन पाउँने आशा उनको मनमा छ ।
इँटा भट्टामा बालश्रमिकहरु आज पनि जीवन खोज्दै भविश्यको सपना बोकेर भौतारिरहेका छन् । एक अध्ययन अनुसार देशभरिका इँटाभट्टामा करिब २८ हजार बालश्रमिक छन् । भक्तपुरका इँटाभट्टामात्रै ५०० भन्दा बढी बालबालिका छन् ।
त्यसो त भक्तपुरका चार वटा ईट्टाभट्टालाई बालश्रम मुक्त घोषणा गरिएको पाँच वर्ष भयो । कुनै अनुगमन छैन । अहिले तिनै ईट्टाभट्टामा बालश्रमिक छन् । नियमनकारी निकाय नहुदाँ बालश्रम रोक्न सकिएको छैन ।
इँटा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातीभाई ह्याम्बाले ईट्टाभट्टालाई बालश्रम मुक्त बनाउन खोजे पनि अभिभावकसंगै आउने बालबालिकालाई रोक्न नसकिएको बताउनु हुन्छ । रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायतका जिल्लाबाट मजदुरसंगै आउँने बालबालिकालाई काम नलाउ भने पनि अभिभावकले काम लगाउने गरेको व्यवसायीको गुनासो छ ।
अहिले बालबालिकाको पढाईका लागि स्कुल पठाउने व्यबस्था गरेको बताउदै नाइकेसंगै आउने बालबालिकालाई काममा नलगाउने गरेपछि आउँन छाडेको उहाँ बताउनु हुन्छ । इँटा भट्टामा पहिलाको जस्तो बालश्रम नरहेको उहाँको दाबी छ ।
बालश्रमको क्षेत्रमा विगत ३१ वषएदेखि काम गर्दै आएको संस्था समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस) की अध्यक्ष विमला ज्ञवालीले अहिले ११ लाख बालबालिका कुनै न कुनै श्रममा आबद्ध रहेको बताउनु हुन्छ ।
आफ्नो संस्थाले बालश्रम रोक्नलाई गाउँमै अभिभावकलाई स्वरोजगार बनाउने कार्यक्रमसमेत रामेछाप, सिन्धुपाल्चोक लगायतमासुरु गरेको बताउदै सरकारले अभिभावकलाई गाउँमै स्वरोजगार बनाउन सके बालश्रम रोक्न सहज हु बताउनुहुन्छ ।
बाल अधिकारकर्मी युवराज घिमिरेले नेपालमा अहिले पनि करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको बताउनु हुन्छ । बालश्रममा आउनुको मुख्य कारण गरिबी नै रहेको उहाँको भनाई छ । गाउँगाउँका स्थानीइ सरकारले स्वरोजगार बढाउन सके बालश्रम रोकिने उहाँको भनाई छ ।










प्रतिक्रिया दिनुहोस्