समाचार

हुम्लामा आगलागी हुँदा दुईजना घाइते



काठमाडौँ, ११ पौष । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपमा बिहीबार राति आगलागी हुँदा दुईजना जलेर घाइते भएका छन् । 

उक्त आगलागीमा परी घाइते भएका लैबा फडेरा र बम्बु फडेरालाई जिल्ला अस्पताल हुम्ला सिमकोटमा उपचारको लागि पठाइएको सोही गाउँपालिका वडा नं. २ का अध्यक्ष सिद्ध कार्कीले जानकारी दिए । कार्कीका अनुसार घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको छ ।

आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा र छिरिङ फडेराको घर पूर्णरूपमा जलेका छन् भने रमेश महताराको घरको सामान जलेर नष्ट भएको छ  । हालसम्म क्षतिको यकिन विवरण आउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले रातिको समय भएकाले आगो नियन्त्रण गर्न कठिनाइ भएको बताए । आगलागी नियन्त्रणको लागि प्रहरी खटिएको उनले जानकारी दिए ।