राजनीति

एमाले सचिवालय बैठक बस्दै: यस्ता छन् एजेण्डा



काठमाडौँ, १३ पौष । नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर बैठक बोलाइएको हो ।

एक पदाधिकारीका अनुसार कार्यालय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलबारे पनि अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने कार्यसूची छ ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ ।

जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरुको नाम संकलन गरेर ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारेका छन् ।

बैठक र मापदण्डविनै सूची तयार पारिएको भन्दै एमालेमा बैठक बोलाउन दबाब बढाइएको थियो ।