अर्थ

विदेश अध्ययनमा चार महिनामै बाहिरियो सवा ४८ अर्ब



काठमाडौँ, १४ पौष । गएको चार महिना (साउन–कात्तिक) मा वैदेशिक अध्ययनमा ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वैदेशिक अध्ययनमा बाहिरिने रकम करिब २८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा यही शीर्षकमा ३७ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको थियो । 

यसअनुसार गएको चार महिनामा विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि १ अर्ब २ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा मुलुक भित्र्याएका छन् । उक्त अवधिमा अध्ययनका लागि नेपालबाट बाहिरिएको रकमबाट विदेशी विद्यार्थीमार्फत नेपाल भित्रिएको रकम घटाउँदा खुद ४७ अर्ब २३ करोड रुपैयाँ नेपालबाट बाहिरिएको देखिन्छ । गत आर्थिक वर्षको यस्तो रकम ३५ अर्ब ९७ करोड रुपैयाँ थियो ।

आर्थिक वर्ष २०८१/८२ मा अध्ययनका लागि मुलुकबाट १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो । यस्तो रकम हरेक पछिल्ला वर्षमा बढिरहेको छ । यसअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र अध्ययनका लागि मुलुकबाट १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो । आर्थिक वर्ष २०७९/८० मा विदेश अध्ययनकै लागि १ खर्ब ४२ करोड, २०७८/७९ मा ६७ अर्ब ७० करोड रुपैयाँ, २०७५/७६ मा ४६ अर्ब ३२ करोड र २०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।