काठमाडौँ, १६ पौष । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दलहरू इतिहासकै कठिन क्षणबाट गुज्रिरहेको बताएका छन् ।
विभिन्न नेताले एमाले परित्याग गरेको सन्दर्भलाई लक्षित गरेर सामाजिक सञ्जालमार्फत उनले यो वेला हामीले गम्भीर समीक्षा गरी सही निकास दिनको लागि पनि धैर्यता आवश्यक रहेको उनले बताए । उनले धैर्यता गर्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘यतीवेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहास कै कठिन क्षणबाट गुजरीरहेको अवस्था छ । यो वेला हामीले गंभीर समिक्षा गरी सहि निकास दिनुपर्ने छ । यसका लागि धैर्यता अनिवार्य छ ।
हामीले उपरोक्त कार्यभार पूरा गर्न नेकपा एमालेको ११ औ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको बिषय अघि सारेका थियौ । हाम्रो प्रस्तावले नेपालको राजनीतिक वृत्त, संचारजगत, वुद्धिजीवी तथा आमजनसमुदायको प्रयाप्त ध्यानाकर्षण भएको छ । आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ ।
हामीले पार्टीको अन्तरसंधर्षमा आश र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौ । म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफनु तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु । हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थनप्राप्त गरेको छ र निकट भविष्यमै पार्टीपंतिबाट पनि अनुमोदन हुनेछन ।










प्रतिक्रिया दिनुहोस्