अर्थ

मुस्ताङमा पर्यटकको आगमन संख्या वृद्धि



मुस्ताङ, १७ पौष । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन संख्या वृद्धि भएको छ ।

यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको संख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । 

सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८.७१ प्रतिशतले पर्यटकको आवागमन वृद्धि भएको जनाइएको छ । उक्त वर्षको जनवरीदेखि डिसेम्बर ३१ तारिखसम्म यहाँ कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएको हो ।  सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । 

गत वर्ष यहाँ आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट एक लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना रहेका छन् । त्यसअघि सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटक यहाँ आएको तथ्यांक छ ।