राजनीति

तीन स्थानीय तहमा फोहरमैला व्यवस्थापन नीतिको वैधता प्रक्रिया सम्पन्न



काठमाडौँ, १८ पौष । युरोपियन युनियनको सहयोगमा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन स्थानीय तहमा समग्र फोहोरमैला व्यवस्थापनका लागि बनेको नीतिको वैधता प्रक्रिया सम्पन्न गरेको छ ।

परियोजना अन्तर्गत सन्चालित मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिका, बर्दिबास नगरपालिका र बागमती प्रदेशको ललितपुर महानगरपालिकाका लागि बनााइएको  फोहोरमैला व्यवस्थापन विधेयकमाथिको नीतिगत बैधता प्रक्रिया सम्पन्न गरिएको क्रिएसन नेपालका कार्यक्रम निर्देशक सुजाता कोइरालाले जानकारी दिइन । 

युरोपियन संघको आर्थिक तथा प्राविधिक सहयोगमा जनकपुर उपमहानगरपालिका, बर्दिबास नगरपालिका र ललितपुर महानगरपालिकामा फोहर व्यवस्थापन नीतिको वैधतामाथि वृहत छलफल गरी सम्बन्धीत स्थानीय तहले अगामी बोर्ड बैठकबाट पारित गर्ने परियोजनाका लिड सन्तोष कुमार मगरले बताए । उक्त वैधता प्रक्रिया सम्बन्धित स्थानीय तहहरूमा फोहर व्यवस्थापन विधेयकको प्रभावकारी कार्यान्वयनका लागि महत्वपूर्ण आधारका रूपमा लिइएको छ ।

कार्यक्रमअन्तर्गत घरेलु, व्यावसायिक, औद्योगिक, निर्माणजन्य, जैविक, अजैविक तथा जोखिमयुक्त फोहरसमेत सबै प्रकारका फोहरको दिगो व्यवस्थापन, फोहोरमैला व्यवस्थापनमा संलग्न सफाईकर्मीहरुको पेशागत स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने र निजी क्षेत्रको सहभागिता उद्देश्यले तयार गरिएको नीतिको समीक्षा, छलफल र सुझाव संकलन गरिएको थियो । यस प्रक्रियामा स्थानीय जनप्रतिनिधि, नगर÷महानगरका प्राविधिक कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, महिला तथा युवा समूह, फोहर व्यवस्थापनमा संलग्न कामदार, तथा विकास साझेदारहरूको सक्रिय सहभागिता रहेको थियो।

नीति वैधता कार्यशालाहरूमा स्रोतमा फोहर छुट्याउने अभ्यास, पुनःप्रयोग र पुनर्चक्रणको प्रवद्र्धन, जैविक फोहरको कम्पोस्टिङ, प्लास्टिक तथा अन्य अजैविक फोहरको व्यवस्थापन, निजी क्षेत्रको सहभागिता, तथा चक्रिय अर्थतन्त्रका अवधारणाहरूलाई स्थानीय तहमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा गहन छलफल गरिएको थियो ।

सम्बन्धित स्थानीय तहहरूले नीतिको वैधता प्रक्रिया पश्चात फोहर व्यवस्थापन विधेयकलाई अन्तिम रूप दिई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । यसले स्वच्छ सहर निर्माण, वातावरण संरक्षण, जनस्वास्थ्य सुधार तथा हरित रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।