राजनीति

निर्धारित समयमा निष्पक्ष र धाँधलीरहित चुनाव हुन्छ : मन्त्री खरेल



काठमाडौँ, १८ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनमा जसरी पनि चुनाव हुने बताएका छन् ।

शुक्रबार चितवनको भरतपुरमा पत्रकाहरूसँग कुरा गर्दै मन्त्री खरेलले राम्रो, निष्पक्ष र धाँधलीरहित चुनाव हुने बताएका हुन् ।मन्त्री खरिलले निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको बताए । उनले २१ फागुनमै चुनाव हुने सबैभन्दा पछिल्लो आधार भनेको ६४ वटाभन्दा बढी दलले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउने काम भइसकेको बताए ।

उनले भने, ‘जनस्तरदेखि मिडियासम्म, प्रश्नदेखि जवाफसम्म सबै चुनावमा केन्द्रित भइरहेको छ । अब पनि चुनाव हुन्छ हुँदैन भन्ने कुरामा तपाईंहरूलाई द्विविधा छ र ? सम्भवतः द्विविधा छैन । यहाँहरूलाई म भन्न चाहन्छु २१ फागुनमा जसरी पनि चुनाव हुन्छ । जसरी भनेको राम्रो, निष्पक्ष र धाँधलीरहित चुनाव हुन्छ । प्रमुख राजनीतिक दल सबैले बुझाइसके । सरकारले स्रोत, साधन, जनशक्ति जति चाहिन्छ त्यसका लागि पर्याप्त बजेट छुट्याइसकेको छ, पुर्‍याइसकेको छ । राजनीतिक दलहरू अहिले चुनाव प्रचारप्रसार गर्न थालिसकेका छन् । प्रत्यक्षतर्फबाट पनि उम्मेदवार छनोट हुन थालिसकेको छ । टिकट कसलाई दिन नदिने भन्ने चर्चा हुन थालिसकेको छ । को चुनाव लड्ने नलड्ने भनेर चर्चा हुन थालिसकेको छ ।’