काठमाडौँ, १९ पौष । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले त्यसैले लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वशर्त भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसमा आएको समस्यालाई लक्षीत गर्दै नेता ज्ञवालीले कुनै पनि प्रमुख दलहरुको विभाजनले लोकतन्त्रलाई गम्भीर संकट पैदा गर्ने धारणा राख्नुभयो । सामाजिक सञ्जालमा आज आफ्नो धारणा राख्दै नेता ज्ञवालीले नेपाली काँग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभएको छ, प्रमुख दलहरूका नीति, भूमिका र आन्तरिक प्रबन्धको प्रभाव लोकतान्त्रिक प्रणालीमा गहिरो गरी पर्छ । दलहरू आन्तरिक रूपले कमजोर या विभाजित हुँदा त्यसको मूल्य मुलुकको लोकतन्त्रले नै चुकाउनु पर्दोरहेछ भन्ने अनुभव हामीले निकट अतीतमा देखे भोगेका छौँ- २०५४ मा भएको नेकपा (एमाले) विभाजनले कसरी हिँसात्मक द्वन्द्वलाई राष्ट्रव्यापी विस्तार गर्न सघायो भन्ने तथ्यका रूपमा, र २०५९ मा भएको नेपाली काँग्रेसको विभाजनले प्रजातन्त्र अपहरणका लागि राजालाई कसरी बहाना दियो भन्ने यथार्थका रूपमा । त्यसैले लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक स्वास्थ्य राम्रो हुनु अनिवार्य पूर्वशर्त हो । आशा गरौँ- लोकतन्त्र, संविधान र राष्ट्रिय हितमाथि नै गंभीर चुनौती उपस्थित भएको यथार्थ र यिनको रक्षाका लागि आफ्नो काँधमा रहेको अभिभारालाई बोध गर्दै नेपाली काँग्रेसले आफ्ना आन्तरिक समस्याहरूलाई समझदारी र सुझबुझका साथ समाधान गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्