राजनीति

२७ गतेसम्म समानुपातिक बन्दसूचीको गल्ती सच्याउन पाइने



काठमाडाैँ, २० पौष । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ ।

कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइने आयोगका तथ्याङ्क शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरले बताए । उनकाअनुसार २१ गतेदेखि २७ गतेसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूची पेस गर्न पाउने उनले जानकारी दिएका छन् ।

पौष १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको हो । रुजु गर्नेक्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई आइतबार साँझसम्म पत्रमार्फत जानकारी गराइने उनले जानकारी दिए । फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरुले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची पेस गरेका थिए ।

अन्तिम सूची सार्वजनिक हुनुअघि सम्बन्धित उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिनसक्ने उनले बताए । समानुपातिक सूचिमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिने उनले बताए । दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली स्थानमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई निर्वाचन आयोगले सार्वजनिक गर्ने उनले जानकारी दिए ।