एजेन्सी, २० पौष । चीनले अमेरिकाको नियन्त्रणमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई तुरुन्तै रिहा गर्न आग्रह गरेको छ ।
वाशिङ्टनले भेनेजुएलाको राजधानी काराकाससहित अन्य क्षेत्रहरूमा ठूलो सैन्य आक्रमण गरी राष्ट्रपति मादुरोलाई अपहरण गरेपछि चीनले यस्तो आग्रह गरेको हो ।
आज बेइजिङले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको सुरक्षालाई प्राथमिकता दिन जोड दिँदै अमेरिकालाई भेनेजुएलाको सरकार नढाल्न आह्वान गर्यो । चीनले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघनका रूपमा चित्रण गरेको छ ।
यो चीनको शनिबारयता आएको दोस्रो वक्तव्य हो । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टनले मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देशबाहिर लगेको बताएका थिए ।
शनिबार बेइजिङले अमेरिकालाई भेनेजुएला र यसका राष्ट्रपतिविरुद्ध हेजेमोनिक कार्यहरू र खुला शक्ति प्रयोग गरेको भन्दै धिक्कार गरेको थियो र वाशिङ्टनलाई संयुक्त राष्ट्रसंघको चार्टर पालना गर्न आग्रह गरेको थियो ।
चीन तथा भूमण्डलीकरण केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता एन्डी मोकका अनुसार चीन भेनेजुएलाका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको छ ।
मोकले अल अमेरिकी कारबाहीभन्दा केही घण्टाअघि नै चिनियाँ प्रतिनिधिमण्डलले भेनेजुएलाका अधिकारीहरूसँग भेट गरेको जजिरालाई भनेको थियो । यो क्षेत्रमा अमेरिकाको रणनीतिक तथा आर्थिक हितको व्यापकतालाई ध्यानमा राख्दा वाशिङ्टनको कदमले बेइजिङलाई पूर्ण रूपमा अचम्मित नपारेको उनले उल्लेख गरे ।
उनले भने, “यो कारबाही कसरी गरियो भन्ने कुराले भने ध्यानाकर्षण गरेको छ, किनकि यसले क्षेत्रमा अमेरिकाको दीर्घकालीन रणनीतिलाई प्रतिनिधित्व गर्न सक्छ ।”
मोकले अगाडि भने चीन भेनेजुएलाको तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो, यद्यपि यो देशले चीनको कुल तेल आयातमा केवल ४–५ प्रतिशत मात्र हिस्सा ओगट्छ । ऊर्जाबाहेक चीनका ल्याटिन अमेरिकामा व्यापार तथा लगानीका हितहरू पनि बढ्दै गएका छन्, जसका कारण बेइजिङले क्षेत्रीय राजनीतिक परिवर्तनहरूलाई नजिकबाट हेरिरहेको छ ।
मोकले यदि भविष्यको कुनै अमेरिकी प्रशासनले मोनरो सिद्धान्त शैलीको नीति पुनर्जीवित गर्यो भने यसले चीनसँग तनाव बढाउन सक्ने चेतावनी दिए । इो किनभने ल्याटिन अमेरिका चीनको वैश्विक दक्षिण रणनीतिको स्तम्भ हो ।
यद्यपि, चीनमा रहेका विश्लेषक शन रेनका अनुसार चीन भेनेजुएलाका घटनाहरूमा कडा शक्ति प्रयोग नगरी कूटनीतिक विरोधमै सीमित रहन सक्छ । “मलाई लाग्छ चीनले अमेरिकाको निन्दा गरेको छ र ल्याटिन अमेरिकी तथा क्यारिबियन देशहरूसँग मिलेर यो गलत हो भन्ने सन्देश दिइरहेको छ,” चीन मार्केट रिसर्च ग्रुपका संस्थापक रेनले अल जजिरालाई भने ।










प्रतिक्रिया दिनुहोस्