काठमाडौँ, २४ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, इतर समूहका नेता डा शेखर कोइराला र डा मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ । कोइराला रिजाललाई लिएर देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।
भेटमा नेता कोइरालाले ‘पार्टीमा को के हुने भन्दा पनि पार्टी एकता जोगाउने’ विषय महत्वपूर्ण हुने भन्दै बृहत्तर सहमतिका लागि पहल गर्न आग्रह गरेका छन् ।
महाराजगञ्जस्थित देउवा निवास पुगेर नेता कोइरालाले महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा सबै पक्षको सम्मान हुनेगरी समाधान खोज्न देउवाको ध्यानाकर्षण गराएका हुन् । ‘म कोइराला हुँ । पार्टी विभाजन भएको हेर्न सक्दिन । विभाजनको पीडा तपाईले पनि भोग्नुभएकै छ। के के गर्नुपर्छ गरौं, विभाजन रोकौ’, देउवासँग शेखरले भने ।
उनले आफ्नालाई कांग्रेसको सभापति बन्ने वा नबन्नेभन्दा पनि कांग्रेस सग्लो रहने वा नरहने भन्ने कुरा महत्वपूर्ण रहेको देउवालाई बताएका छन् ।
‘म भोली सभापति बनुला वा नबनुला । तपाईले सहयोग गर्नुहोला वा नहोला । त्यो भन्दा महत्वपूर्ण कुरा कांग्रेसको एकता हो । एकता जोगाउन तपाईले पहल लिनुस’, देउवालाई शेखरले भनेका छन् । जवाफमा सभापति देउवाले पछिल्लो परिस्थितिप्रति आफू चिन्तित रहेको भन्दै सबैसँग संवादका लागि तयार रहेको बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्