राजनीति

सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागौं: उपराष्ट्रपति यादव



काठमाडौँ, २७ पौष । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूलमन्त्र बनाउन सङ्कल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय एकता दिवस, २०८२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले सबै प्रकारका विभेद, वैमनस्यता र असहिष्णुतालाई अन्त्य गर्ने सङ्कल्पले मात्र मुलुकलाई आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक उन्नतितर्फ अघि बढाउन सकिने बताए ।

उनले भने, “कुनै पनि जातीय, वर्गीय, धार्मिक र क्षेत्रीय द्वन्द्वलाई निस्तेज गर्दै भाइचारा, मेलमिलाप र अपनत्वभाव विकास गर्नमा पनि यस दिवसले योगदान पुग्ने विश्वास लिएको छु, राष्ट्रिय एकता दिवसले हाम्रो समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने मार्गप्रशस्त गरोस् ।”