मनोरञ्जन

हरि बुढामगरद्वारा सातै महादेशका शिखर आरोहण



काठमाडौँ, २८ पौष । हरि बुढामगर कृत्रिम खुट्टाको सहायतामा यही पौष २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किएका छन् ।  

समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहेका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पुरा गरेका छन् । ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका हरि विश्व समुदायकै लागि एक साहसको पर्याय बनेका छन् ।  

उनले भने, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको चिसोको जलन भइरहेको थियो । घरीघरी म आफैँ माथि शंका गर्थेँ । भगवानमा विश्वास नगर्ने म हामी सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ ।”

बुढामगरले तीव्र गतिको हावा र त्यो चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासले कठिन चुनौती पूरा गर्न सफल भएको बताए । युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उनले हरेक काममा चुनौती हुने तर त्यसलाई पार गर्न आत्मविश्वास आवश्यक हुने बताए । निरन्तर र अथक प्रयासले मात्र यो सम्भव भएको उनको बुझाइ छ । 

मगरले यसअघि १९ मे २०२३ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९०), २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१) को सफल आरोहण गरेका थिए । उनले न्यु गिनीको पुन्चाकजयु (४,८८४), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्यांक (४,८०९ मिटर) को सफल आरोहण गरेका थिए । गत बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गरेका हुन् । 

योसँगै उहाँले दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर पनि सातै महादेशका अग्लो चुचुरो आरोहण गर्ने नयाँ किर्तिमान बनाएका छन् ।