अर्थ

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो



काठमाडौँ २९ पौष । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

आज नेप्से सूचक ४.९० अङ्कले वृद्धि भई २६३९.९१ विन्दुमा पुगेको छ । आज बजारमा ३४९ वटा कम्पनीका कुल ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा १ करोड ३६ लाख २४ कित्ता सेयर ७७ पटक किनबेच भएका छन् ।

आज कारोबार भएका कम्पनीहरूमध्ये ११८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको मूल्य घटेको छ। ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।

आज थ्रिस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै दोर्दी खोला जलविद्युत ९.३८ प्रतिशत र सुपर मादी हाइड्रोपावर ९.०७ प्रतिशतले बढेका छन् ।

घट्ने कम्पनीहरूमा रसुवागढी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी ६.०९ प्रतिशतले ओरालो लागेको छ। त्यस्तै नारायणी विकास बैंक ४.४४ प्रतिशत र विन नेपाल लघुवित्त ३.७७ प्रतिशतले घटेका छन्।

आज बजारमा हाइड्रोसहित सात समूहमा वृद्धि हुँदा बाँकी छ समूह घटेका छन् । हाइड्रो १.०२ प्रतिशत बढ्नु बाहेक अरू सबै समूहमा एक प्रतिशत भन्दा कमको उतारचढाव देखिएको छ ।