राजनीति

चुनावमा हाम्रो अग्नि परीक्षा हुनेछ : माधव नेपाल



काठमाडौँ, २९ पौष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन् ।

आज काठमाडौँमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले २१ फागुनमा निर्वाचन हुने बताउँदै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

उनले निर्वाचन पार्टीका लागि अग्नि परीक्षा भएकाले त्यसलाई पार लगाउनका लागि सिंगो पार्टी पंक्ति एकतावद्ध भएर परिचालन हुन जरुरी रहेको बताए ।

उनले भने, ‘चुनावमा हाम्रो अग्नि परीक्षा हुनेछ । यस बीचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ । त्यसकारण चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर, पर्खेर बस्ने होइन । चुनावको तयारीमा पूरै जुट्ने हो । र, यसका लागि हामीले निर्वाचनको बारेमा चुनाव घोषणा पत्र बनाउन पनि कमिटी बनाइसकेका छौँ । त्यसको मस्यौदाको काम पनि अगाडि बढन थालिसकेको छ । त्यसैगरी निर्वाचन परिचालन गर्ने कमिटी पनि हामी बनाउन गइरहेका छौँ,’ ।