राजनीति

पर्वले सामाजिक सद्भाव र धार्मिक आस्थालाई बलियो बनाउँछ: उपराष्ट्रपति यादव



काठमाडौँ, १ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले माघी पर्वले नेपालमा मनाइने पर्वले विभिन्न जातजातिका परम्परा र संस्कृतिलाई जीवित राख्दै सामाजिक सद्भाव र धार्मिक आस्थालाई बलियो बनाउने बताएका छन् ।

माघे सङ्क्रान्ति २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले विभिन्न नामले मनाइने चाडपर्वको साझा सन्देश राष्ट्रियता, भाइचारा, मेलमिलाप, मैत्रीभाव र अपनत्वलाई बलियो बनाउनु रहेको बताए। उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको अधिकार, स्वशासन र समृद्धिको मार्गमा अघि बढ्न माघी पर्वले प्रेरणा दिने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले थपे, “हिन्दू धर्मावलम्बीहरूले यस दिनलाई पुण्यतिथि मानेर सूर्यदेव र भगवान् विष्णुको आराधना गर्छन् । सूर्यदेवको उत्तरायण यात्रा प्रारम्भ हुने दिन भएकाले पवित्र नदीमा स्नान, दान र धार्मिक अनुष्ठान गर्ने परम्परा छ, यसरी मनाइने पर्वले विभिन्न जातजातिका परम्परा र संस्कृतिलाई जीवित राख्दै सामाजिक सद्भाव र धार्मिक आस्थालाई बलियो बनाउँदछ ।”

उनले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा जोड दिएका छन् । उनले स्रोतको संरक्षण र दिगो उपयोगका लागि आमनागरिक र सरोकारवाला सबै सचेत हुनुपर्ने बताए । उपराष्ट्रपति यादवले माघी पर्वलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा पनि मनाइने गरेको उल्लेख गरे ।