राजनीति

राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनेर कांग्रेसलाई कमजोर पारियो : शेखर कोइराला



काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी विभाजन रोक्न नसकेको बताएका छन् ।

आज एक वक्तव्य जारी गर्दै कांग्रेसलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको बताएका हुन् ।

उनले भनेका छन्, ‘कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न,’ ‘हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।’

कोइरालाले पार्टी विभाजनका लागि राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिएको आरोप पनि लगाएका छन् ।

‘यस बीचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका बारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहासमा सुम्पन्छु,’ उनले अगाडि लेखेका छन्, ‘देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यसबीच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।’