राजनीति

निर्वाचन सुरक्षा योजना कार्यान्वयन गरिँदै



कैलाली, ३ माघ । सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एवं सुदृढ पार्न लागिएको छ ।

भौगोलिक विकटता, सडक सञ्जाल, निर्वाचनस्थलको संवेदनशीलतालाई आधार मानेर निर्वाचन सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

निर्वाचनको सुरक्षाका लागि मतदानस्थल तथा केन्द्रको बहिरी घेरामा नेपाली सेना, मध्यम घेरामा, सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी परिचालनको व्यवस्था मिलाउन लागिएको उनले बताए । विगतका निर्वाचनको मतदानका क्रममा भएको अवाञ्छित एवं अस्वाभाविक गतिविधिलाई मध्यनजर गरेर सुरक्षा रणनीति बनाइएको छ । यसबाहेक सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान आआफ्नो सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा परिचालित हुन लागेको जनाइएको छ ।

निर्वाचनको सुरक्षालाई दृष्टिगत गरेर प्रदेशका सबै नौ जिल्लामा गरी ३०० मतदानस्थललाई सामान्य, ३९५ लाई संवेदनशील र ४८१ लाई अतिसंवेदनशील निर्वाचनस्थल तोकिएको छ । प्रदेशभर एक हजार १७६ मतदानस्थल र दुई हजार १८६ मतदान केन्द्र कायम गरिएको छ । प्रदेशभरि सात हजार ५८ जना नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी परिचालन गर्न लागिएको उनले जानकारी दिए ।

कैलालीमा तीन हजार ५६७, कञ्चनपुरमा दुई हजार ३५, बाजुरामा ९६४ र दार्चुलामा ८८४, बझाङमा एक हजार४८४, डडेलधुरामा ९४४, बैतडीमा एक हजार २७९, दार्चुलामा ८८४ र अछाममा एक हजार ४६३ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ । प्रदेशमा प्रतिनिधिसभा सदस्यका १६ निर्वाचन क्षेत्र छन् ।