राजनीति

पूर्वमन्त्री प्रदीप यादवले त्यागे जसपा नेपाल, एमालेमा प्रवेश



वीरगन्ज, ५ माघ । जसपा नेपालका समन्वय समिति सदस्य तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जसपा नेपालसँग पार्टी एकीकरण भएको १६ दिनमै यादवले जसपा छाडेर एमाले रोजेका हुन् । आइतबार मध्यराति गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा पूर्वमन्त्री यादव एमालेमा प्रवेश गरेका हुन् । अध्यक्ष ओलीले उनलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाएपछि असन्तुष्ट बनेका यादव वीरगन्जका मेयर राजेशमान सिंहसहितका कार्यकर्ताहरूसमेत सोमबार एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेशसँगै यादव पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने आंकलन गरिएको छ । यसअघि पनि उनी सोही क्षेत्रबाट चुनाव जितेका थिए ।