राजनीति

माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश



काठमाडौँ, ७ माघ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको हो । 

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार अख्तियारले तामेलीमा राखेको निर्णयको फाइल आएसँगै आउँदो माघ १४ गतेदेखि अर्को सुनुवाइका लागि पेसी तोकिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । 

नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।