राजनीति

यी हुन् पाँच जनाको उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी (सूचीसहित)



काठमाडौँ, ८ माघ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका पाँच जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

उनीहरूको उम्मेदवारी खारेजी गर्नुपर्ने मागसहित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो । यसको जानकारी निर्वाचन आयोग काठमाडौँमा पनि पठाइएको छ । उम्मेदवारहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको, सर्वोच्च अदालतबाट दोषी ठहर भएको, सरकारी निकायबाट पेस्की लिएर फर्छ्योट नगरेको, नागरिकता विवरणलगायतमा कैफियत देखिएको आदि दाबीसहित निर्वाचन कार्यालयमा उजुरी परेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध उजुरी परेको छ । नेपालविरुद्ध पतञ्जलिको जग्गा भ्रष्टाचारको अभियुक्त बनाएर विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको हो ।

नागरिक उन्मुक्ति पार्टी, नेपालबाट कैलाली–१ का उम्मेदवार रेशमलाल चौधरीविरुद्ध पनि उजुरी दर्ता भएको छ । उनी टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहरिएका व्यक्ति हुन् । तर उनलाई राष्ट्रपतिबाट सजाय माफी दिएर छुटाइएको थियो ।

रास्वपाबाट भक्तपुर–२ मा उम्मेदवार बनेका राजीव खत्रीविरुद्ध उजुरी दर्ता भएको छ । खत्रीविरुद्ध नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु रकम बाँकी रहेको दाबी गरिएको छ । भक्तपुर–२ कै नेपाल जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठकविरुद्ध पनि नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको दाबीसहित उजुरी परेको छ ।

रास्वपाबाट सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाविरुद्ध पनि उजुरी परेको छ । जनता माध्यमिक विद्यालयसँग थापाको कारोबार रहेको र व्यक्तिगत कम्पनीमार्फत काम गर्दा बेरुजुको बक्यौता रहेको भनी उजुरी आएको सुनसरी–२ का निर्वाचन अधिकृत राजेन्द्रकुमार लम्सालको भनाइ छ ।

पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी दिँदै बिहीबार ५ बजेसम्म ती उजुरीमाथि निर्णय दिने कार्यतालिका रहेको निर्वाचन आयोगका सूचना अधिकृत सुमन घिमिरेले जनाए ।