राजनीति

कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो : प्रदीप पौडेल




काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन् । 

महामन्त्री पौडेलले आजको केन्द्रीय समिति बैठकबाट निर्वाचन सम्बन्धी ठोस निर्णयहरू हुने बताए । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वले आज पहिलोपटक केन्द्रीय समितिको बैठक सानेपा स्थित केन्द्रीय कार्यालयमा गर्न लागेको हो ।

बैठकमा प्रवेश गर्नुअघि महामन्त्री पौडेलले पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विशेष महाधिवेशनबाट नयाँ कांग्रेस बनेको बताए । 
 
“हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्दै त्यसलाई नयाँ दिशामा अघि बढाउने घोषणा गरेका छौँ,” पौडेलले भने, “विशेष महाधिवेशनबाट कांग्रेस त नयाँ बन्यो, अब यो कांग्रेसको नेतृत्वमा देश नयाँ बनाउने हो ।”