काठमाडौँ, १२ माघ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको ‘करेक्सन’ आएको छ । आइतबार ५७ अंक बढेको नेप्से सूचक सोमबार ३.०७ अंक घटेको हो ।
आज नेप्से सूचक सामान्य अंकले घटे पनि कारोबार रकमले बजारको उत्साह झनै थपेको छ । देशभरि चुनावी माहोल बढेसँगै सुधारको बाटोमा देखिएको सेयर बजारमा लगानीकर्ता फर्कने तथा लगानी बढाउने क्रम बढेसँगै कारोबार रकम १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
नेप्से सूचक घटे पनि कारोबार रकममा देखिएको सुधारले आगामी दिनमा बजार सूचकको उकालो यात्रा कायम नै रहने संकेत गरेको छ । सोमबार नेप्से सूचक घट्ने बढ्ने गरेर बन्द भएको छ ।
कारोबार सुरु हुँदा २७७२.१७ अंकमा रहेको नेप्से बन्द ३.०७ अंकले घटेर २७६९.०९ अंकमा झरेको छ । सोमबार नेप्सेमा कारोबार भएका १ सय ६५ कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक नकारात्मक भएको नेप्सेले जनाएको छ ।
सोमबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २.३६, विकास बैंक ३.७८, वित्त १२.१४, लगानी ०.५९, जीवन बीमा ७१.४६, लघुवित्त २५.५४, निर्जीवन बीमा १९.३३, अन्य १२.४४ र व्यापार ४.७१ अंक घटेका छन् ।
तर होटल १२७.६८, जलविद्युत् ११.०४, उत्पादनमूलक ३८.९४ र सामूहिक लगानी कोष ०.१६ अंकले बढे पनि त्यसको असर नेप्सेमा न्यून देखियो ।










प्रतिक्रिया दिनुहोस्