राजनीति

लुम्बिनी प्रदेशसभा बैठक बस्दै



बुटवल, १४ माघ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ ।

सातौँ अधिवेशनको तेस्रो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा बोल्ने कार्यसूची रहेको छ । 

मुख्यमन्त्री चेतनारायण आचार्यले जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गर्नेछन् ।

सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । 

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्ने र त्यस क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका प्रतिवेदनहरू सभामा पेस गर्ने कार्यसूची पनि समावेश गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।