रौतहट, १४ माघ । सशस्त्र प्रहरी बल, नेपालले रौतहटको सीमावर्ती क्षेत्रमा नक्कली भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय गौरबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जना भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा शङ्कास्पद नोटसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत, जिल्ला सितामढी पर्सौनी बस्ने अन्दाजी ४२ वर्षीय राकेश कुमार साह र जिल्ला सितामढी सिभवर परिषद–४ बस्ने अन्दाजी ३० वर्षीय विक्रम कुमार पासवान रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताए । उनीहरूले प्रयोग गरेको विआर ३० ए एफ ५७३१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ।
जाँचका क्रममा उनीहरूको साथबाट भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली जस्तो देखिने नोट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद रकममध्ये ५०० दरको १ थान र २०० दरको १० थान नोट रहेका छन् । शङ्कास्पद नोटसहित उनीहरूको साथबाट सक्कली भारु १७७ रुपैयाँ, मोटरसाइकल र दुई थान एन्ड्रोइड मोबाइल समेत बरामद गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्