काठमाडौँ, १५ माघ । जुम्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ । मोबाइलमा नेटवर्कले राम्रोसँग काम नगर्दा टेलिफोन सम्पर्कविहीन अवस्थामा उत्पन्न भएको छ ।
देशका धेरै ठाउँमा फोरजी डाटा, निःशुल्क वाइफाइ र डिजिटल सेवाको चर्चा भइरहँदा हिँयाखोलाका स्थानीय अझै पनि नेटवर्क खोज्दै डाँडा उक्लन बाध्य भएका स्थानीयको भनाइ छ ।
देशभर चुनावी माहौल तातिएको बेला विभिन्न सूचना, राजनीतिक समाचारलगायत अन्य गतिविधिको जानकारी लिनका लागि गाउँबाट एक घण्टा हिँडेर नेटवर्क आउने ठाउँमा जानुपर्ने बाध्यता रहेको छ ।
वडा नं ४ का अध्यक्ष विशाल खड्काले टेलिकमले गाउँपालिका–४ स्थित हाँकु गाउँको लाग्नामा रहेको टावरको क्षमता घटाउँदा यो समस्या आएको बताए । नेपाल टेलिकमका जुम्ला शाखा प्रमुख पारश पुजारा भने लाग्नामा रहेको टावरको क्षमताभन्दा बढी ग्राहक रहेकाले हिँयाखोला गाउँसम्म नेटवर्कको क्षमताले धान्न नसकेको बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्