काठमाडौँ, १५ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने र देश विकासमा प्रस्ट दृष्टिकोण समेट्ने गरी घोषणापत्र ल्याउने तयारी गरिएको जानकारीका छन् ।
नेपाली कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले बुधबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफलमा उनले निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई विजय गराउन पार्टीभित्र एकता आवश्यक रहेको बताएका हुन् ।
महामन्त्री पौडेलले भने, “फागुन २१ मा हुने निर्वाचन आफ्नो आस्था र अस्तित्वसँग जोडिएको विषय हो, पार्टीभित्रका सबै उम्मेदवारलाई जिताउनु सबैको जिम्मेवारी रहन्छ । पार्टीले पछिल्लो परिस्थिति र जनभावनाअनुसार लोकप्रिय उम्मेदवार तय गरेको छ । पार्टीभित्र एकता कायम राख्नेगरी टिकट वितरण गरिएको छ । क्रियाशील सदस्य नै पार्टीको जितको आधार भएकाले सबै एकताबद्ध भएर लागौँ ।”
काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले निर्वाचनमा परिणाम ल्याउने गरी सामाजिक सञ्जालको सदुपयोग गर्न पनि आग्रह गर्दै पार्टी बदलिएको सन्देश आम कार्यकर्ता र जनता दिन जरुरी रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्