काठमाडौँ, १५ माघ । काठमाडौँ, म्याग्दी र सुर्खेतका छुट्टाछुट्टै स्थानमा बिहीबार चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारस्थित बागमती खोलामा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ३५ वर्षका देखिने ती पुरुषको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।
यसैगरी, काठमाडौँ महानगरपालिका–१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकैको सडक पेटीमा अर्का एक पुरुष मृत फेला परेका छन्। अन्दाजी ६० वर्षका देखिने ती व्यक्तिको पनि पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। दुवै शवलाई पोस्टमार्टम र पहिचानका लागि अस्पताल पठाइएको छ।
काठमाडौँबाहिर म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरेमा निर्माणाधीन राहुघाट हाइड्रोपावरको पावर हाउसभित्र एक जनाको शव भेटिएको छ। मृतक इलाम माई नगरपालिका–९ घर भएका ५५ वर्षीय भिस्म पौडेल रहेका छन्।
उता सुर्खेतको गुर्भाकोट नगरपालिका–२ गैरी बजार नजिकै सडकको नालामा सोही ठाउँका ५१ वर्षीय पिमलाल डाँगी मृत अवस्थामा फेला परेका छन्। नालामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले मुचुल्का तयार गरी आवश्यक अनुसन्धान सुरु गरेको छ।










प्रतिक्रिया दिनुहोस्