समाचार

सिरहामा गोली हानी एक जनाको हत्या



काठमाडौँ, १६ माघ । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ ।

सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् । स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोला किनार छेउको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए।

यादवको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेश कुमार यादवले खेत जोत्न गएका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको खबर प्राप्त भएको बताए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनास्थलको अवस्था हेर्दा गोली हानी हत्या गरिएको देखिएको छ । तर कसले र किन गोली हानेको हो भन्ने विषयमा हालसम्म केही खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।