बागलुङ, १७ माघ । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गत वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको समस्या नहुँदा उत्पादन वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष रु २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय बाँझो खेतबारीमा किसानले सन्तला खेती गर्न थालेपछि बर्सेनी उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमारपुन मगरले जानकारी दिए । बसाइँसराइले रित्तिदै गएका गाउँमा राम्रो सुन्तला उत्पादन भएको उनको भनाइ छ ।
पहिले कादो, मकै र गहुँलगायतका खाद्यान्न बाली लगाउने बारीमा हिजोआज सुन्तला खेती गर्न थालिएको प्रमुख पुन मगरले बताए । कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषक सुन्तला खेतीप्रति आकर्षित उनी बताउँछन् । यस वर्ष चार हजार १६९ मेट्रिकटन सुन्तला उत्पादन भएको पुन मगरले जानकारी दिए । किसानले न्यूनतम रु प्रति किलो रु ६५ ले बिक्री गरेको उनको भनाइ छ ।
विसं २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा हालसम्म आउँदा बढेर ६६४ हेक्टर पुगेको छ । अहिले ३८१ हेक्टरमा सुन्तला उत्पादन भइरहेको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेकमा बढी सुन्तला उत्पादन हुन्छ ।
काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष रु छ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेको हुँदा रु आठ लाखमा बगाननै व्यापारीलाई दिएको बताए । सुन्तलाका लागि समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उनको भनाइ छ । अघिल्लो वर्ष औसा किराले झन्डै एक लाखको सुन्तला नष्ट गरी दिएको किसान कँडेल बताउँछन् । सोही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष रु १३ लाखको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाखमा बेचेको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्