अर्थ

छोरी जन्माउनेलाई तीन हजार प्रोत्साहन भत्ता



काठमाडौँ, १९ माघ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप तीन हजार भत्ताको व्यवस्था गरेको छ ।

गाउँपालिकाले लैंगिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई तीन हजारका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो । गाउँपालिका उपाध्यक्ष शान्ती नाथले पछिल्लो समय लिंग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताइन् ।

आर्थिक वर्ष २०७९/८० बाट ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको र हालसम्म ३५३ आमाले छोरी जन्माएबापत प्रोत्साहन भत्ता पाएका छन् ।

चालु आर्थिक वर्षमा ४० आमालाई छोरी जन्माएबापत प्रतिव्यक्ति तीन हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको छ ।

प्रोत्साहन भत्ता लिन आउँदा विवाह दर्ता र बालिकाको जन्मदर्ता ल्याउनुपर्ने भएकाले यसले बालविवाहलाई रोक्ने अपेक्षा गरिएको छ ।