समाचार

ठगी गर्ने दुई जना पक्राउ



काठमाडौँ, १९ माघ । पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका ११ घर भई हाल पोखरा ६ बस्ने २८ वर्षीय बिरेन्द्र रावत छन् ।

उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत होटल र विभिन्न कम्पनीमा काम लगाइदिने भनेर ठगी गरेको हो । आफू कानुन व्यवसायी रहेको र श्रीमानले पोल्याण्डमा होटल सञ्चालन गरिरहेको भन्दै पौडेलले पैसा मागेकी थिइन् ।

दुईजना मिलेर ११ जनासँग प्रतिव्यक्ति १० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएको खुलेको छ । प्रहरीका अनुसार १४ लाख ६० हजार ठगी गरेको प्रारम्भिक रिपोर्टले खुलाएको छ । 

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।