काठमाडौँ, २० माघ । नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई खटाएको छ ।
उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ले सातै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन नेताहरूलाई खटाएको हो ।
अहिले नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा त्यस अनुसारको रणनीति बनाउने तयारी कांग्रेसको छ । सहमहामन्त्री डा. डिला संग्रौला पन्तले निर्वाचन परिचालन समितिले सातै प्रदेशमा नेताहरूलाई पार्टीको जनमत बुझ्न पठाएको र आफू त्यसक्रममा कोशी प्रदेशमा खटिएको जानकारी दिइन् ।
डा. संग्रौलाका अनुसार कोशीमा उनीसहित निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, कोशीबाट प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरू खटिएका छन् । आफू ओखलढुङ्गाको वस्तुस्थिति बुझेर मोरङमा पुगेको संग्रौलाले बताइन् ।
मधेस प्रदेशमा सहमहामन्त्री मुक्ताकुमारी यादवको नेतृत्वमा वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरू तथा पूर्वपदाधिकारीहरूले वस्तुस्थिति बुझ्ने काम गरिरहेका छन् । मधेसमा निवर्तमान सहमहामन्त्री महेन्द्र यादव र पूर्वउपसभापति विमलेन्द्र निधि प्रत्यक्षतर्फ निर्वाचन लडिरहेका छन् । यादव धनुषा–४ र निधि धनुषा–३ मा उम्मेदवार छन् ।
बागमती प्रदेशमा सहमहामन्त्री बहादुर सिंह लामाको नेतृत्वमा वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरूसहितका नेताहरू खटिएका छन् ।
गण्डकी प्रदेशमा केन्द्रीय सदस्यहरू चीनकाजी श्रेष्ठ र अब्दुल सतारको नेतृत्वमा लुम्बिनी प्रदेशमा सहमहामन्त्री योगेन्द्र चौधरीले पुराना र नयाँ नेताहरूसँग समन्वय गरेर वस्तुस्थिति बुझ्ने काम गरिरहेका डा. संग्रौलाले जानकारी दिइन् । चौधरी आफै दाङ–१ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
कर्णालीमा सहमहामन्त्री कर्णबहादुर बुढासँग समन्वय गरेर केन्द्रीय सदस्य जानकी सिंहलाई वस्तुस्थिति बुझ्ने कामको नेतृत्व गर्नेछिन् । बुढा आफू प्रत्यक्षतर्फको उम्मेदवार छन् । उनी डोल्पाबाट प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
सुदुरपश्चिम प्रदेशमा केन्द्रीय सदस्यहरू भरत खड्का र हिम रावलसहितका नेताहरूलाई खटाइएको छ ।










प्रतिक्रिया दिनुहोस्