राजनीति

काठमाडौंमा बसेका कार्यकर्तालाई निर्वाचन क्षेत्रमा गएर चुनाव प्रचारमा लाग्न अध्यक्ष ओलीको निर्देशन 



काठमाडौँ, २२ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं बाहिर मतदाता नामावली भएका  कार्यकर्तालाई निर्वाचन प्रचार प्रसारका लागि आफ्नो आफ्नो  निर्वाचन क्षेत्र फर्कन  निर्देशन दिनुभएको  छ ।

पार्टीको झापा काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समय निकालेर आफ्ना निर्वाचन क्षेत्रमा जान निर्देशन दिनुभएको  हो । ‘तपाईंहरु विभिन्न पेशा व्यावशाय गर्न काठमाडौं आउनु भएको छ । अहिले निर्वाचनको माहोल छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘समय निकालेर निर्वाचन क्षेत्र जानुहोस । पार्टीको पक्षमा माहोल बनाउनुहोस । आफन्त भेट्नुहोस । साथीभाइसँग बस्नुहोस । पार्टी र नेतृत्व विरुद्धका भ्रमहरु चिर्नुहोस । ’

 अध्यक्ष ओलीले जहाजमा यात्रीको रुपमा व्यक्तिले जहाज चलाउछु भन्ने कुरा असान्दर्भिक मात्र होइन जोखिमपूर्ण पनि हुने बताउनुभयो । विभिन्न व्यक्तिहरुले आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार भन्दै प्रचार गरेकोप्रति व्यंग्य गर्दै अध्यक्ष ओलीले अनुभव नभएका र देश चलाउने सोचै नभएका व्यक्तिहरुबाट यस्तो कुरा सम्भव नहुने बताउनुभयो । ‘जहाजमा यात्रुको रुपमा रहेको व्यक्तिले म त जहाजै उडाउन सक्छु  भनेर पाइलट सिटमा बस्यो भने के हुन्छ ?’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ‘त्यस्तो जहाजमा कोही चढ्लान् त ? झुक्किएर कोही चढीहाले भने उसको अवस्था के होला ? त्यसकारण अहिले सबैले सोचबिचार गरेर निर्णय गर्नुपर्ने समय आएको छ । ’

 अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा पनि स्विकार नगर्ने बताउनुभएको छ । ‘प्रधानमन्त्रीले हिमालमा हिंउ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनें । यो कुनै हालतमा पनि स्विकार्य हुदैन’ उहाँले भन्नुभयो ‘पोहोर हिंउद भन्दा अघि जन्मेको बच्चालाई हिंउदमा हिंउ पर्छ भन्ने कुरा थाहा हुन्छ । अनि निर्वाचनको मिति तोक्ने बेलामा थाहा थिएन हिंउदा चिसोले निर्वाचन हुदैन भन्ने कुरा ?’

 अध्यक्ष ओलीले निर्वाचन शतप्रतिशत निष्पक्ष र धाँधली रहित हुनु पर्ने बताउनुभयो । ‘निर्वाचनको तयारी निष्पक्ष,मतदान विना डर त्रास र प्रलोभनमा हुनुपर्दछ’ अध्यक्ष ओलीले भन्नुभयो ‘मतपेटिका एक सेकेण्ड पनि पार्टीका प्रतिनिधीको अनदेखा हुनुहुदैन । त्यसमा सबै चनाखो हुनुहोस । ’

 अध्यक्ष ओलीले एमालेले निर्वाचन शानदार ढंगले जित्ने भएको सबै कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्न पनि निर्देशन दिनुभएको छ । ‘विभिन्न फिरंगीहरु आउन सक्छन् । त्यस्तालाई चिन्नुहोस ’ अध्यक्ष ओलीले भन्नुभयो ‘हामीले गरेका विकास निर्माणका काम,सुशासनका काम,जनचेतनाका काम जनतालाई भन्नुहोस । मतदाताको मन जित्ने गरी काम गर्नुहोस ।’

 कार्यक्रममा पार्टीका सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की,पूर्वमन्त्री अग्नी खरेल लगायतले पनि कार्यकर्तालाई निर्वाचन क्षेत्र केन्द्रित हुन आग्रह गर्नुभएको छ ।