समाचार

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित



काठमाडौँ, २४ माघ । पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ ।

फिदिम नगरपालिकाभित्रका २३ महिनाभित्रका सबै बालबालिकालाई १५ महिनाभित्र लगाउनु पर्ने सबै प्रकारका खोप लगाइएको निश्चित गरी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित गरिएको हो ।

फिदिम नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिनासम्मका २७३ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै प्रकारका खोप लगाएको तथा १५ महिनाभन्दा कम उमेरका ५६२ जना बालबालिकाले निर्धारित खोप नियमित रूपमा लगाइरहेको यकिन गरी पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

फिदिम नगरपालिकामा खोप नलगाएका बालबालिकाको सङ्ख्या शून्य भएका आधारमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । फिदिम नगरपालिकाको कार्यालयमा शुक्रबार आयोजित घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख महेश सुनारले नगर प्रमुख काफ्लेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरे ।