Banner News

आयोगद्वारा मतदाता शिक्षा कार्यक्रमलाई तीव्र



काठमाडौँ, २६ माघ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ ।

मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ । मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ ।

मतदाता शिक्षा सामग्री उत्पादन र प्रभावकारी परिचालनका लागि सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यम तथा विभिन्न क्षेत्रका नियामक निकायसँग पनि सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड र सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालसँग आयोगले यसअघि नै सहमति गरिसकेको छ ।

प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ ।