राजनीति

हामी कामबाटै उत्तर दिन्छौँ : सभापति थापा



विराटनगर, २७ माघ । कांग्रेस सभापति गगनकुमार थापाले आगामी निर्वाचन परिस्थितिले सिर्जना गरेको बताए ।

कांग्रेस कोशी प्रदेशले आयोजना गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै सभापति थापाले संविधानको रक्षा र कार्यान्वयन नै कांग्रेसको मुख्य एजेन्डा भएको स्पष्ट पारे । सभापति थापाले सत्ता र निर्वाचनका लागि विगतमा भएका कतिपय निर्णयहरू त्रुटिपूर्ण रहेको स्वीकार गरे । 

उनले भने, ‘सुशील कोइरालाले जारी गरेको संविधानकै कारण आज हामीले लोकतान्त्रिक गतिविधि गर्न पाइरहेका छौँ । आज कोइरालाको स्मृति दिवस पनि हो । यो संविधानमा थुप्रै सुधारको आवश्यकता छ, तर यसको निरन्तरता अनिवार्य छ । भदौ २३ र २४ को त्यो विद्रोह जनताको निराशाको उपज थियो । सडकमा आएका युवा मात्र होइन, घरमै बसेकाहरू पनि वर्तमान अवस्थाप्रति असन्तुष्ट थिए । निर्वाचन जित्न जोसँग पनि मिल्ने र सरकारमा टिक्न जे पनि गर्ने प्रवृत्तिले नागरिकमा प्रश्न उब्जाएको छ । नागरिक सोधिरहेका छन्, कांग्रेस बदलिनुले मेरो जीवनमा के फरक पार्छ ? अब हामीले यसको उत्तर कामबाटै दिनुपर्छ ।’