विश्व

ट्रम्पद्वारा अमेरिका–क्यानडा जोड्ने पुल उद्घाटन रोक्ने धम्की



एजेन्सी, २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने अन्तर्राष्ट्रिय पुलको उद्घाटन रोक्ने धम्की दिएका छन् । क्यानडाले अमेरिकालाई दिनुपर्ने सबै प्रकारका योगदानको ‘पूर्ण क्षतिपूर्ति’ नपाएसम्म उक्त पुल सञ्चालनमा नआउने ट्रम्पको चेतावनी छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओन्टारियो (क्यानडा) र मिसिगन (अमेरिका) जोड्ने गाँर्डी होवे अन्तर्राष्ट्रिय पुल जबसम्म क्यानडाले अमेरिकासँग ‘निष्पक्ष व्यवहार ’नगर्ने अवस्था अन्त्य हुँदैन तबसम्म नखुल्ने बताएका छन् ।
पुल परियोजनाको आधिकारिक वेबसाइटका अनुसार, यसको निर्माण खर्च क्यानडाले व्यहोरेको हो । यद्यपि पुलको स्वामित्व भने क्यानडा र अमेरिकी राज्य मिसिगन दुबैको हुने व्यवस्था छ ।

यस विषयमा मिशिगनकी डेमोक्रेट सिनेटर एलिसा स्लाँटकिनले पुल उद्घाटन रोक्नु राज्यको अर्थतन्त्रका लागि अत्यन्त हानिकारक हुने चेतावनी दिएकी छन् । उनका अनुसार यो पुलले व्यापार, रोजगारी र सीमापार आवागमनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।

तर राष्ट्रपति ट्रम्पसँग वास्तवमै पुलको उद्घाटन रोक्ने कानुनी अधिकार छ वा छैन भन्ने विषयमा अहिलेसम्म स्पष्टता आएको छैन । सन् २०१८ मा निर्माण सुरु गरिएको उक्त पुल आवश्यक परीक्षण प्रक्रिया पूरा भएपछि सन् २०२६ को सुरुआतमै सञ्चालनमा ल्याउने योजना थियो ।